‘झिङ्गाको सरापले डिंगा मर्दैन । कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध बोल्यो भन्दैमा तरंगित हुन पर्दैन’, पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूत मात्र हुन् भन्न डराउनु पर्दैन । बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून् ।’
विवेकशील साझा पार्टीकै संयोजक मिलन पाण्डेले संघीयताको खारेजी तथा धर्म निरपेक्षताका सम्बन्धमा जनमत संग्रह आवश्यक रहेको भन्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको प्रस्तावमा असन्तुष्टि जनाइसकेका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत संयोजक पाण्डेले विवेकशील साझा पार्टी विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्न र संविधानको पूर्णतः पालना गर्नमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
‘घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो । विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ हुन्’, उनले भनेका छन् ।