काठमाडौ । पार्टी एकताका लागि दोस्रो तहका नेताहरुले घनीभूत छलफल गरिरहँदा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सरकारममा सहभागी हुने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र उनलाई विश्वासको मत प्रदान गर्न पार्टीको ह्वीपलाई उल्लंघन गरेका थिए ।
प्रधानमन्त्री देउवाले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागिताका लागि आग्रह गरेपछि नेपाल पक्षले सरकारमा सहभागि हुन लालयित भएका हुन । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हिजो शनिबार बेलुकी बसेको सत्ता गठवन्धन आवद्ध पाँच दलको बैठकमा प्रधानमन्त्री देउवाले एमाले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागीताका लागि आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका सांसदहरुले मन्त्री बन्न दबाब दिएपछि देउवा नेतृत्वको सकारमा सहभागी हुन भित्रभित्रै तयारी गरेको श्रोतको दाबी छ । मन्त्री बन्नका लागि सांसदहरु विरोध खतिवडा, रामकुमारी झाक्री, कल्याणी खड्का, प्रेम आले, किसन श्रेष्ठ, बेदुराम भुषाल, सरला यादव, पुष्पा कर्ण, कलिला खातुनहरुले नेपाललाई मन्त्री बनाउन दबाब दिदै आएका छन् ।
‘प्रधानमन्त्रीजीले माधवजीलाई सरकारमा आउनुस् भन्नुभयो । उहाँले पनि सकारात्मक छु सल्लाह गरेर निर्णय दिन्छु भन्नु भएको छ,’ गठवन्धनको बैठकमा सहभागी एक नेताले भने । । प्रधानमन्त्री देउवाले भने जतिसक्दो छिटो सरकारलाई पूर्णता दिएर जनताको कामलाई तदारुकता दिन गठवन्धनले सहयोग गर्नुपर्ने भन्दै सबै नेताहरुलाई त्यसका लागि सहजीकरण गर्न आग्रह गरेका छन् ।
सो क्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले भने निर्वाचन आयोगमा आफ्नो दलको विवाद टुंगिने क्रममा रहेकाले केही दिन पर्खन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । देउवा प्रधानमन्त्री बनेपछि गठवन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पहिलो पटक सहभागी भएका हुन् ।
यसअघि देउवा प्रधानमन्त्री बनेपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको गठवन्धनको बैठकमा उनी सहभागी भएका थिएनन् । उनले नेता विजय पौडेललाई बैठकमा पठाएका थिए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारलाई अघि बढाउन गठवन्धनका सबैको सहयोग उत्तिकै महत्वपूर्ण रहेको भन्दै त्यसतर्फ ध्यान दिएर जनताको काममा लाग्नु पर्ने बताएका थिए ।
प्रधानमन्त्री देउवा बैठकमा प्रस्तुत हुँदा यसअघि भन्दा फरक ढंगबाट प्रस्तुत भएका थिए । उनी प्रधानमन्त्रीका लागि राखिएको कुर्सीमा नबसी अन्य नेताहरु जस्तै समान हैसियतमा सोफामा बसेका थिए ।
बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्ने निणर्य गरेको प्रति धन्यवादसमेत दिएका थिए । बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र कांग्रेस महामन्त्री पूणर्बहादुर खड्का पनि सहभागी थिए ।
पाँच दलीय सत्ता गठवन्धनमा नेपाली कांग्रेससहित, माओवादी केन्द्र, एमालेको नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।