काठमाडौ । नेकपा एमालेको संसदीय दलको वैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजका लागि संसदीय दलको वैठक बोलाएका हुन । तर पार्टीभित्रको गतिरोध अन्त्य नभएको भन्दै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने संसदीय दलको वैठक रोक्नुपर्ने अडान राखेका छन् ।
सर्बोच्च अदालतले संसद पुर्नस्थपना र नेपाली कांग्रेसलाई प्रधानमन्त्री बनाएपछि विकसित राजनीतिक परिस्थितको विषयमा छलफलका लागि पार्टी अध्यक्ष ओलीले दलको वैठक बोलाएपनि वरिष्ठ नेता नेपालसमूहको अडानका कारण वैठक प्रभावित हुने अवस्था सिर्जना भएको छ ।
यसैबीच पार्टीभित्र भएको १० बुँदे सहमति भत्किने खतरा देखिएको भन्दै दोस्रो तहका नेता फेरि सक्रिय भएका छन् । ११ दिन लगाएर गरिएको १० बुँदे सहमतिको बुँदा कार्यान्वयनमा नजाने संकेत देखिएपछि एमाले कार्यदलमा रहेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका हुन् ।
गत २७ असार राति १० बुँदे सहमति जुटाउन कार्यदल सफल भए पनि भोलिपल्ट आएको सर्वोच्चको फैसलापछि एमालेभित्र उक्त सहमति भाँडिने अवस्था बनेको छ । सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनी बाहेक अरु नेता गल्ती कमजोरी स्वीकार गरेर आए मात्र पार्टीमा स्थान दिने बताएका छन् ।
यसबाट झस्किएका नेपाल पक्षका कार्यदल सदस्यले यसलाई जोगाउनु पर्ने भन्दै अग्रसरता लिएका हुन् । त्यसकै लागि उनीहरूहिजो (बिहीबार) राजधानीको एक होटेलमा बसेर सिंगो कार्यदलको बैठक बसाउन जोड गर्ने निष्कर्ष निकालेका छन् । छलफलमा कार्यदलमा नरहेका स्थायी कमिटी सदस्य भीम आचार्य पनि सहभागी भएका छन् ।
१० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफलमा बसेका उनीहरुले पार्टी एकताका लागि सहमतिको कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने र अबका निर्णय संस्थागत हिसाबले हुनुपर्ने निष्कर्ष निकालेका हुन् । छलफलकै बीच नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले ओली पक्षका संयोजक सुवास नेम्वाङलाई फोन गरेर चाँडो बैठक बस्न ताकेता गरेका थिए ।
सहमति भाँडिने खतरा बढेपछि दुबै समूहका दोस्रो तहका नेताहरुले बिहीबार अनौपचारिक छलफल गरेका छन् । एमाले सचिव गोकर्ण विष्टले कार्यदलले गरेको दश बुँदेमा टेकेर एकता जोगाउन अरु नेताहरुबीच पनि संवादमा चलिरहेको बतााइका छन् ।