काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि हिजै पहिलो मन्त्रीपरिषद वैठक बस्यो । पहिलो वैठकमा सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड१९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजो बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो।
आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए।
त्यस्तै कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको हो।
महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन सुरु गर्ने निर्णय बैठकले गरेको छ। मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताका रुपमा मन्त्री कार्कीलाई तोकेको छ।