काठमाडौ । प्रतिनिधिसभा विघटनको विचाराधीन मुद्धाको आज संवैधानिक इजालसमा छिनोफानो हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको सो इजलासमा यही असार २१ गते पक्ष तथा विपक्षको बहस सकिएको थियो । सोही दिन प्रधानन्यायाधीश राणाले असार २८ गते ‘हेर्दा हेर्दै’ को रूपमा इजलास बस्ने बताएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित विघटित प्रतिनिधिसभाका एक सय ४६ सांसदहरूले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा बहुमत सांसदको हस्ताक्षर भएर पनि राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरिएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ ९४० बमोजिम विश्वासको मत लिन अस्वीकार गरेपछि राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिमको प्रधानमनन्त्रीमा दाबी गर्न २० घण्टाको समय दिई आह्वान भएको थियो ।
सो आह्वानबमोजिम देउवाद्वारा एक सय ४९ सांसदको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका थिए । अर्कोतिर प्रधानमन्त्री ओलीले पनि आफूलाई धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री बनाउनुपर्ने माग गरी तीन पार्टीका नेताको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष निवेदन दिएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै माग दाबीबमोजिम प्रधानमन्त्री बनाउन नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीको सिफारिसबमोजिम प्रतिनिधिसभा विघटन गरी आउँदो कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने मिति तोक्नुभएको थियो ।