एमाले अब एक ढिक्का बन्ने पक्का, आजै सहमति आउने यस्तो छ खाका

काठमाडौ । सत्तारुढ दल नेकपा एमाले भित्र देखिएको विवाद अब साम्य हुने दिशामा अगाडी बढेको छ । लगातार १२ दिनदेखि बस्दै आएको कार्यदलको वैठकले सहमतिका बुँदाहरुलाई लिपिबद्ध गर्ने कार्यलाई अन्तिम रुप दिएसँगै एमालेभित्र देखिएको समस्या निकारण हुने भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालपक्षका कार्यदलका सदस्यहरु सहमतिका लागि अहोरात्र खटिरहेका छन् । हिजो शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा करिब ७ घण्टा कार्यदलको बैठक बसेको थियो । त्यो वैठकबाट धेरै विषयमा सहमति भैसकेको वैठकमा सहभागी नेताहरुले प्रतिक्रिया दिएका थिए । त्यस्तै बाँकी रहेको बिषयलाई आज (शनिबार) अन्तिम रुप दिने नेताहरुको दाबी छ ।
वैठकपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको प्रतिनिधित्व गरेका कार्यदलका सदस्य तथा सचिव गोकर्ण विष्टले धेरै विषयमा सहमति भएको र एकाध विषय अझै टुंगिन बाँकी रहेको बताए । विष्टले भने, ‘अधिकांस बिषयमा सहमति भएको छ । एकाध विषयमा छलफल बाँकी रह्यो, भोलि निष्कर्षमा पुग्छौ ।’
त्यस्तै अध्यक्ष केपी ओली पक्षका कार्यदल सदस्य तथा सचिव प्रदीप ज्ञवालीले सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषय बाँकी रहेको बताए । ज्ञवालीले भने, ‘कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरेका छौं ।’

२ जेठ २०७८मा गठन भएको कार्यदलमा कार्यदलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबाट पाँच–पाँच जना छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। त्यस्तै, नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।

 

 

adb bank long