चितवन । चितवनकी सुजिता भण्डारीको मृत्यु कुनै चोटको कारण नभएको चिकित्सकले बताएका छन् । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी भण्डारीको मृत्यु ‘चोट पटक’ का कारण नभएको पोष्टमार्टमबाट खुलेको हो ।
त्रिवि शिक्षण अस्पतालमा सुजिताको शवका पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमबाट शरीरमा शरीरमा चोटपटक नदेखिएको बताइएको छ । अनुसन्धानमा संलग्न प्रहरीलाई चिकित्सकले शरीरमा ठुलो चोट नभएको तर, बायाँ हातमा ब्लेडले काटेको सामान्य चोट देखिएको जानकारी दिएका छन् ।
पोष्टमार्टमबाट सुजिताको ‘हाइमिन नच्यातिएको’ भेटिएको छ । ‘हाइमिन नच्यातिएको’ कारण सुजितामाथि बलात्कार नभएको पुष्टि भएको छ । भि–सेरा परीक्षणका लागी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाइएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । भि–सेरा परीक्षणबाट विष खाएको वा नखाएको पत्ता लाग्छ ।
चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव गत आइतबार साँझ भेटिएको थियो । शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल भेटिएको थियो ।
घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण हालसम्म खुलेको छैन् । घटनाको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को टिमले घटना अनुसन्धान गरिरहेका छन् ।
असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी गराएकी थिइन् । अपहरणको सूचना दिँदा पनि प्रहरीले अनुसन्धानमा चासो नदेखाउँदा दुर्घटना भएको पिडित पक्षले आरोप लगाएको छ ।