काठमाडौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आजबाट विद्युत उत्पादन शुरु गर्ने भएको छ । ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट आजदेखि बिजुली उत्पादन गर्न लागिएको हो ।
आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे श्रव्यदृष्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट छ ।
आयोजनाले आइतबार विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको ४७।२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
आयोजना स्थलमा सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आइतबारसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो । सोमबारदेखि भने ती उपकरणलाई लोडमा चलाइने प्रवक्ता न्यौपानेले जानकारी गराए ।