पार्टी एकताका लागि माधव नेपाललाई मनाउन वार्ता टोलीका ६ नेता पुगे कोटेश्वर

काठमाडौ । नेकपा एमाले एकताका लागि गठित वार्ता टोलीका सदस्यहरु माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । पार्टी एकताका लागि ठोस निषकर्ष निकाल्ने गरी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरु लागिरहेको छन् ।

त्यसैको निरन्तरतास्वरुप वार्ता टोलीका सदस्यहरु नेपाल निवास कोटेश्वर गएका हुन । वार्ता टोलीले पार्टी एकताका लागि मस्यौदा समेत तयार गरिसकेका छन् । यसअघि नेपाल पक्षधर नेताहरुले मात्र ब्रिफिङ गरेकामा आज ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ पनि नेपाललाई मनाउन गएका हुन ।

गत शनिबार ओली र नेपालबीच फोन संवाद भएको थियो । दुवै नेताबीचको फोन संवादमा कुनै सहमति बन्न सकेको थिएन । ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए भने नेपालले पार्टी एकतासँग हस्ताक्षरको कुनै सम्बन्ध नभएको भन्दै फिर्ता नलिने अडान लिएका थिए ।

यसअघि शुक्रबार पनि दुवै नेताबीच फोन संवाद भएको थियो । त्यसमा ओलीले केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका थिए भने नेपालले केन्द्रीय कमिटी बैठक रोक्न अनुरोध गरेका थिए ।

त्यसयता दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुट्दै आएका छन् । तर, कुनै सहमति बन्न सकेको छैन । त्यसैले दुवै शीर्ष नेताबीच भेटवार्ता गराएर सहमति खोज्ने प्रयास गरिएको टोलीमा सहभागी एक नेताले जानकारी गराए ।

adb bank long