काठमाडौ । लगातारको अविरल वर्षापछि झरेको पहिरोले ट्रक पुरिँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले चारवटा सवारी पुरिएको छ । त्यही पहिरोमा ना ८ ख ४५४० नम्बरको ट्रक पुरिएको र त्यही ट्रकमा सवार व्यक्तिको मृत्यु भएको प्रहरी सनाखत गरेको छ ।
विहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदोमाटो झर्दा काठमाडौंबाट गएका सवारीहरु मुग्लिनमा र पूर्व तथा पश्चिमबाट राजधानी आएका सवारीसाधनहरु नरायणगढमै रोकिएका छन् । मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ । अहिले राजमार्ग पुरै ठप्पप भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीको अनुसार वर्षा नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका२९ को सेती दोभानमा ठूलो पहिरो खसेको छ । त्यसैगरी त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अबरुद्ध भएको छ ।
उता धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका(६ परेवाटारमा पनि ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको छ ।