काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फरक ट्रीक लगाउनु भएको छ । प्रसंशा गरेर फुर्क्याउदा सहजै आफ्नो काम गराउन सफल हुने निश्कर्षसहित देउवा र प्रचण्डले यस्तो नीति लिनुभएको हो ।
एमाले एकताका लागि नेपालमाथि आफ्नै समूहको दबाब चर्को रूपमा आइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले केही समयदेखि माधवलाई आफ्नो जालमा पारिराख्न फुर्क्याउने रणनीति लिएको दुवै दलका नताहरुको बुझाइ छ । शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवा र दाहालले नेपालको खुलेर प्रशंसा यही नीतिअनुसार गर्नुभएको हो ।
देउवाले माधव नेपालको प्रशंसा गर्दै माधव नेपाल लडाकु मित्र भएको बताउनु भयो। ‘माधवजी लडाकु मित्र हो। उहाँलाई पनि कुनै धोका हुँदैन। उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ,’ माधवलाई फुर्क्याउँदै देउवाले भन्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले विपक्षी गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता नेपाल एमालेको झन् ठूलो नेता बनेको भन्दै फुर्क्याउनु भयो । ‘माधवजी झन् ठूलो नेता हुनुभयो। माधवजी उक्लिँदै आउनुभएको छ। एमालेको रियल लिडर चाहिँ माधव नेपाल बन्दै हुनुहुन्छ,’ प्रचण्डले यसो भनेर फुर्क्याउँदा माधव मुसुक्क हास्नुभएको थियो ।