काठमाडौ । नेकपा एमाले अहिले फुटको संघारमा पुगेको छ । यहीबीच एमालेका दोस्रो तहका नेताहरु पार्टी फुट्नबाट बचाउनको लागि अन्तिम प्रयास गरिरहेका छन् । यही मेसोमा बालुवाटार छिरेका माधव नेपाल समूहका दुई प्रभावशाली नेता मध्यराति रित्तो हात फर्किएका छन् । हिजो बेलुकी ८ः३० बजे प्रधानमन्त्री निवास छिरेका दुई पूर्वमन्त्री घनश्याम भुसाल र योगेश भट्टराईलाई प्रधानमन्त्री ओलीको बचनबाणले नराम्ररी रन्थनिएर फर्किनुपर्यो ।
शुरुमा केहीबेर कुराएर भेट गरेका ओलीले एक घण्टासम्म माधव नेपालविरुद्ध गुनासो सुनाएको र अन्त्यमा जेठ २ मा फर्किन नसक्ने प्रष्ट बताएपछि उनीहरु मध्यरातमा बालुवाटारबाट फर्किएका थिए । झन्डै साढे दुई घण्टाको छलफलमा ओली टसको मस नभएपछि हैरान भएर साढे एघार बजे बाहिरिएको नेता भट्टराईले बताएका छन् । अध्यक्ष ओलीमा पार्टी मिलाउने तत्परता नदेखिएपछि छलफल टुंग्याएर बालुवाटारबाट बाहिरिएका थिए । छलफलमा अधिकांश समय ओलीले गुनासो सुनाएको र माधव नेपालको आलोचना गरेको नेता भट्टराईले बताए ।
एमाले उपमहासचिव भुसालका अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट संचालन गर्न र थप एकताबद्ध बनाएर लैजान राखिएको प्रस्ताव ओलीले अस्वीकार गरेपछि छलफल निरर्थक बनेको थियो । पार्टीलाई एकताबद्ध बनाएर सरकारको स्थायित्व सुनिश्चित गराउन नेपाल समूहका तर्फबाट गरिएको प्रस्ताव ओलीले नमानेको उनको भनाइ छ ।
विगतमा भएका कमिकमजोरीलाई समीक्षा गर्दै आवश्यकताअनुसार आत्मालोचित हुने विश्वास दिलाउँदा पनि ओली सहमतिका लागि तयार नभएको नेताहरुले गुनासो गरेका छन् । छलफलका क्रममा ओलीले माधव नेपालले आफूलाई पटक पटक पार्टीबाट हटाएको, प्रचण्डसँग मिलेर प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको जस्ता गुनासो गरेपछि भुसाल र भट्टराईले समीक्षा गर्न सकिने बताउनुभएको थियो । दुवैतिरबाट भएका गल्ती कमजोरीको समीक्षा गर्दै नयाँ ढंगले पार्टी निर्माणमा योगदान गर्न गरेको आग्रह ओलीले नमानेको भटराईले बताए ।
ओलीले एकोहोरो अडान दोहोर्याएपछि अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले पार्टी मिलाउने जिम्मा लिन आफूहरुले पुनः आग्रह गरेको भट्टराईले बताए ।