गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा एकैसाथ कोरोना देखिएको छ । उनीहरु विवाह भोजमा सहभागी भएका थिए । उनीहरु गाउँकै एक विवाह समारोहमा गएका थिए । त्यसपछि कोरोनाको लक्षणसँग मिल्नेखालको संकास्पद बिरामी बढ्न थालेको थियो । गाउँमा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो ।
बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकोमा शुक्रबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यति धेरै जनामा सङ्क्रमण देखिनु स्थानीयवासीको हेलचक्र्याइँ रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा सङ्क्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविकरूपमा सङ्क्रमणको दर बढेकोले अन्य गाउँमा पनि सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सबैतिर परीक्षण शुरु गरेको गाउँपालिकाले बताएके छ । गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता समेत दिएको छ ।
विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले जानकारी दिए । उनले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाहलगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताए।
गाउँ कोरोना सङ्क्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको अध्यक्ष मगरको भनाइ छ । गाउँमा सङ्क्रमण बढ्दै गएपछि स्थानीयवासीमा त्रास छाएको छ ।
अहिले सङ्क्रमितहरुलाई ज्वरो आउने तथा रुघा खोकीलगायतका लक्षण देखिएको छ । केही दिनअगाडि गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरु सहभागी भएको बताइएको छ ।
उक्त विवाहमा करिब ४०० सहभागी भएको स्थानीयवासीको भनाइ छ । विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ ।