सातामै चार गुणा बढ्यो संक्रमण

Telecom

काठमाडौं : कोरोनाको दोस्रो लहर सुरु भएको एक महिनामा संक्रमण समुदायस्तरमै द्रुत गतिमा फैलिएको छ। पछिल्लो एक साता अवधिमा संक्रमितको संख्या चार गुणाले बढेको छ।

पछिल्लो २४ घण्टामा बुधबारसम्म २ हजार ३ सय ५१ जना संक्रमित थपिएका छन्। ६ जनाको ज्यान गएको छ। थप संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका हुन्। त्यसमा पनि काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना थपिएका छन्।

‘हरेक चार दिनमा संक्रमण दोब्बर भइरहेको छ। स्वास्थ्य संरचनाहरूले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भएको छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘अत्यन्तै जरुरी काम नपरी घरबाट बाहिर ननिस्कन,सभा, भेला, गोष्ठि,सेमिनार, मिटिङ, जात्रा नगर्न र नागरिकको जीवनरक्षा गर्ने काममा सहयोग गर्न विशेष अनुरोध गर्न चाहन्छु।’

प्रवक्ता डा. गौतमले काठमाडौं उपत्यकासहित मुख्य सहरी क्षेत्रमा कोरोना संक्रमण अत्यधिक दरमा बढिरहेको बताए। ‘कोरोना भाइरसले धनी, गरिब, वयस्क, बच्चा, वृद्ध, तराई, पहाड र हिमालवासी केही भन्दैन। थाहा पाई–पाई भीडभाडमा जाने, केही हुँदैन भनेर विवाह, ब्रतबन्ध, पूजा, भोज, भतेर, समारोह गरि भीड जम्मा गर्ने वा भीडमा सरिक भएको पाइएको छ। मास्क नलगाई सार्वजनिक स्थानमा हिंड्ने जस्ता हेलचेक्र्याईं गरिरहेको पनि देखिन्छ’, प्रवक्ता डा. गौतमले भने,‘थाहा पाएर पनि स्वास्थ्य मापदण्डको पालना भइरहेको छैन। यस्तै असावधानीले संक्रमण दिनहुँ फैलँदै गएको छ।’

सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ। यीमध्ये ९हजार ७ सय ४६ जना होम आइसोलेसनमा छन्। १ सय ८० जना सघन उपचार कक्ष (आईसीयू) र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्।

काठमाडौं विश्वविद्यालयकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठका अनुसार गत साताको दाँजोमा यो हप्ता संक्रमण उच्च ढंगले वृद्धि भएको छ। ‘संक्रमणको ट्रेन्ड हेर्दा नेपाल माथिल्लो स्थानमा पुगेको छ। गत साताको दाँजोमा यो साता झन्डै १ सय ६२ प्रतिशतले संक्रमण वृद्धि भएको छ’, कोरोना भाइरसको युके भेरियन्टको संक्रमणदर अध्ययन गरिरहेकी डा. श्रेष्ठले भनिन, ‘विश्वमा जम्मा २७ प्रतिशतले संक्रमण वृद्धि भएको छ। छिमेकी मुलुक भारतमा ३५ प्रतिशतले वृद्धि भएको छ।’

युके भेरियन्ट (बी १.१.७) नेपालसहित १ सय २९ मुलुकमा फैलिएको छ। पहिलो लहरमा देखिएको कोरोना भाइरसको प्रजातिभन्दा युके भेरियन्ट ४३ देखि ९० प्रतिशतले छिटो फैलने डा. श्रेष्ठको भनाइ छ। मृत्युको जोखिम पनि युके भेरियन्टबाट बढी रहेको जनाइएको छ। मृत्यु बढाउने जोखिम ६४ प्रतिशतभन्दा बढी छ। संक्रमणको यो अवस्थालाई हेर्दा आगामी साता पनि संक्रमणदर एकदम छिटो बढ्ने संकेत देखिएको डा. श्रेष्ठले बताइन्। अहिले नेपालको भाइरस संक्रमण दर १२.२ प्रतिशत छ। अस्पताल भर्ना हुने अवस्थालाई हेर्दा पनि युके भेरियन्ट भाइरसले २.६ प्रतिशतले बढी अस्पताल भर्ना गराउँछ।

संक्रमणको अवस्था हेर्दा नेपालले भारतलाई पच्छ्याइरहेको देखिन्छ।  ‘भारतमा झैं नेपालमा पनि संक्रमणको अवस्था एकदमै द्रुत गतिमा बढ्दै गइरहेको छ।  संक्रमणको संख्या हेरेर मात्र पुग्दैन। परीक्षण गरिएकामध्ये कतिजनालाई पोजेटिभ भयो भन्ने पनि हेर्नुपर्छ’,उनले भनिन्, ‘चैतदेखि कोरोना पोजेटिभिटिको दर पनि भारत र नेपालमा बढ्दै गइरहेको छ। तुलनात्मकरुपमा हेर्दा भारतमा जसरी पोजेटिभिटि दर द्रुत गतिमा बढिरहेको छ। त्यस्तै गरि नेपालमा पनि बढिरहेको छ।’

विश्व स्वास्थ्य संगठनले पोजिटिभ देखिने दर ५ प्रतिशत हुनुलाई धेरै मानेको छ। ‘समुदायमा नै कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिरहेको छ भन्ने कुरा निष्कर्ष निकाल्न सक्छौं’, उनले भनिन्,‘हरेक प्रदेशअनुसार हेर्दा पनि प्रष्ट रुपमा देख्न सकिन्छ।’ बाग्मति प्रदेशमा एकदमै द्रुत गतिमा संक्रमण फैलिएको देखिन्छ।
अघिल्लो र यस वर्षको तुलनात्मक विश्लेषण गर्दा चलायमान उमेर समूह, महिला र  बालबालिकामा संक्रमणदर बढ्दो देखिएको छ। चैत १ गतेदेखि नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको मानिएको छ।

कोरोनाको पहिलो लहरमा ६४.१ प्रतिशत पुरुष संक्रमित भएका थिए। त्यस्तै महिला ३५.९ प्रतिशत प्रभावित भएका थिए। दोस्रो लहरमा भने महिला संक्रमितको संख्या बढेको छ। महिला संक्रमित ४०.२ प्रतिशत रहेको डा. श्रेष्ठको भनाइ छ। पुरुष संक्रमित ५९.८ प्रतिशत मात्र छन्।

‘संक्रमित महिला र पुरुषको संख्या जति नजिक हुँदै गयो। त्यति नै बढी मात्रामा समुदायतिर फेलिएको भन्ने आँकलन गर्न सकिन्छ।’ उनले भनिन,‘ कोरोना संक्रमणको दोस्रो चरणलाई हेर्दा समुदायस्तरमा द्रुत गतिमा संक्रमण फैलिरहेको  निष्कर्ष निकाल्न सकिन्छ। बाहिर जति संक्रमित देखिएका छन्। त्यो भन्दा झन बढी संक्रमित छन भन्न सकिन्छ।’

संक्रमितलाई उमेरअनुसार विभाजित गर्दा यस वर्ष २५ देखि ३४ वर्ष उमेर समूहका व्यक्ति बढी प्रभावित भएका छन्। डा. श्रेष्ठका अनुसार ५ वर्ष देखि १४ वर्ष उमेर समूहका बालबालिकामा पनि पहिलो वर्षभन्दा बढी संक्रमण देखिन्छ। प्रवक्ता डा. गौतमले भने,‘ यस्तो अप्ठेरो परिस्थितिमा हामी सबैले  व्यक्तिगत तथा पारिवारिक तर्फबाट नै संक्रमण रोक्न अभ्यस्त हुनुपर्छ।’अन्नपूर्णपोष्टबाट

adb bank long