काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ‘फ्लोर क्रस’ गर्ने तीन सांसदमाथि कारबाहीको डण्डा चलाएको छ । प्रदेश कमिटीको आज शनिवार बसेको बैठकले सांसदहरु अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाको पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
चार सांसदमध्ये प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य भएकाले कारबाहीका लागि सिफारिस गरेको छ । तीन सांसद भने प्रदेश कमिटी मातहतका भएका कारण पै्रदेशले नै कारबाही गरेको हो ।
हिजो शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सदनबाट विश्वासको मत लिएका थिए । त्यसमा विपक्षी एमालेका ४ सांसदले पनि मुख्यमन्त्रीलाई नै सघाएका थिए । सदनमा मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा अगाडि सत्तापक्षीय एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर त्यसको उल्टे शाहीलाई नै मुख्यमन्त्री बनाउनका लागि ती सांसदहरुले भूमिका खेलेका थिए । जसका कारण कर्णालीमा शाहीको मुख्यमन्त्री पद जोगिएको थियो ।