काठमाडौं । काठमाडौ लगायत मुख्य शहरमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्न लागेको छ ।
नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपील गर्न लागेको हो ।
हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निर्णय लिनुभन्दा अगाडि जनतालाई कोरोनाको नयाँ प्रजातीबारे पर्याप्त जनचेनता फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपील गर्ने निर्णय गरेको हो ।
यस विषयमा उप-प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट आज मंगलबार सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपील गर्नेछन् । साथै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि उप९प्रधानमन्त्री पोखरेलसँगै देशवासीलाई मापदण्ड पालनाको लागि संयुक्तरुपमा अपील गर्नेछन् ।
तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिसकेको छैन । संक्रमणको परिस्थिति हेरेर सरकारले निर्णय लिने भएको छ ।