नेपालगन्ज — पक्की घरभन्दा धेरै फुसका झुप्रा भएका नरैनापुरको खोदवामा आइतबारको दृश्य अलि फरक थियो । बाँके सदरमुकाम नेपालगन्जबाट ४० किलोमिटर दूरी पार गरेपछि पुगिने यो बस्तीमा फुसका झुप्रा निकै कम देखिन्थे ।
झुप्राका काला भग्नावशेषमा केही गाउँले खरानीका थुप्रोमा केही सामान भेटिन्छ कि भन्दै खोज्दै थिए । भग्नावशेषमा खटिया हालेर बसेका केही भने घरसँगै भकारीमा डढेर खानै नमिल्ने भएको अन्न हेर्दै टोलाइरहेका देखिन्थे । केहीचाहिँ विस्थापितका लागि लहरै उभ्याइएका नीला टेन्टबाट भित्र–बाहिर गर्दै थिए ।
बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा १ सय २० वटा घरटहरा ध्वस्त भएका थिए । फकिर खाँको गोठबाट सुरु भएको आगोले केहीबेरमै बस्तीका अधिकांश झुप्रालाई खरानी बनाएको थियो । भागदौडमा ४ जना गाउँले घाइते पनि भए ।
गहुँ काटेर भित्र्याउने समय प
सुगा यादव शनिबार खेतमा काम गरिरहेका थिए । उनका ५ र ६ वर्षका छोरा घरैमा खेलिरहेका थिए । आगो लागेको हल्ला सुनेर गाउँतिर हेर्दा उनलाई खेतमै बेहोस हुन्छुझैं भएको थियो । ‘धन्न बूढीले छोराछोरीलाई घरबाट बाहिर निकालिछन् । ज्यान बच्यो, अरू केही बचेन,’ उनले भने, ‘घरमा भएको गहुँ, चामल सबै जलेर सखाप भए । हामीसँग अब जीउमा लगाएको लुगा मात्र छन् ।’ घटनाको रात परिवारसहित खेतमा बितेको उनले बताए । ‘पक्की घर हुनेको जोगियो, फुसको छानो भएका हामी सबैको स्वाहा भयो,’ उनले भने ।
रेकाले अधिकांश स्थानीय खेतमा काम गर्न गएका बेला बस्तीमा आगो फैलिएको थियो । धनमाल, अन्नपात कसैले केही झिक्न भ्याएनन् । कतिपयको दाउनी गरेर घर भित्र्याएको धान–गहुँ भकारीभित्रै डढेको छ । दमकल, प्रहरी र स्थानीय मिलेर आगो निभाएका हुन् । काठपातमा लागेको आगो आइतबार पनि पूरै निभेजस्तो देखिँदैनथ्यो । खोदवामा पस्दा चारैतिर आगोको राप (तातो) महसुस हुन्थ्यो । कान्तिपुर दैनिकबाट
बस्तीमा आगलागी हुँदा नीलमकुमारी यादव पनि घरमा थिइनन् । छोराहरू मात्र थिए । ‘गहुँ काटेर खेतमा राख्दै थिएँ, एक्कासि धूवाँको मुस्लो देखें,’ उनले सुनाइन्, ‘खेतमा भएका हामी दौडँदै घर पुग्यौं । आगो हाम्रो घरमा आइपुगेको थिएन तर फैलिरहेको थियो ।’ घरसम्म पक्कै आइपुग्छ भन्ने लागेपछि छोराहरूलाई लिएर बाहिर भागेको उनले बताइन् । आगोले उनको पनि घर ध्वस्त भयो । मालसामान केही निकाल्न पाइनन् । गाउँमा भागाभाग हुँदा ६ वर्षका छोरा लडेर घाइते भएका छन् ।
यस्तै प्रमोद यादवले भरखर भित्र्याएको सात क्विन्टल गहुँ आगोले खरानी बनाएको बताए । ‘वर्षभरिको मिहिनेत छिनमै खरानी भयो,’ उनले भने, ‘अब बाँच्न धेरै समस्या भयो ।’ आगलागीमा परी गाउँका धार पनि डढेको उनले बताए । ‘सरकारले राहत दिनको सट्टा घर बनाइदिए कल्याण हुने थियो,’ उनले भने । स्थानीय विनय दीक्षित आगलागी समाधानका लागि दीर्घकालीन विकल्प हुनुपर्ने बताउँछन् । ‘वर्षैपिच्छे हामी आगलागीको समस्या भोग्छौं । घटना हुन्छ, नेतादेखि सबै राहत बाँडेर पन्छिन्छन्,’ उनले भने, ‘दीर्घकालीन समाधानका लागि यस्तो गर्नुपर्छ भनेर ठोस काम कसैबाट हुँदैन ।’
पीडितका लागि राहतको व्यवस्थापन गाउँपालिकाले गरिरहेको छ । ४० वटा टेन्ट राखेर बासको अस्थायी व्यवस्था गरिएको छ । एउटा टेन्टभित्र ८ जना बसेका छन । । आइतबार राति गाउँपालिकाले नै पीडितका लागि खानाको व्यवस्था गरेको थियो । ‘खाना र राहतको व्यवस्था गरिरहेका छौं,’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाहले भने, ‘राहतका भन्दा पनि अब उनीहरूको घर बनाउने कुरा प्रमुख हो ।’ यसका लागि कसले कसरी बजेट जुटाउने भन्नेमा छलफल भइरहेको उनले बताए । शनिबारको घटनामा ६८ परिवारको घर जलेको जानकारी उनले दिए । पीडितमध्ये केहीको बेग्लै पक्कीघर पनि भएकाले उनीहरूलाई भने टेन्टमा राख्नु परेको छैन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अग्निपीडितको पुर्नस्थापनाका लागि सरकारको तर्फबाट प्रतिपरिवार २० हजार रूपैयाँ राहत दिइने बताए । ‘सबैको पहलमा उहाँहरूलाई प्राथमिक आवश्यकता पूरा गरिरहेका छौं,’ उनले भने, ‘प्रदेश सरकारले कस्तो सहयोग गर्न सक्छ भन्नेमा छलफल भइरहेको छ ।’
आगलागीको उच्च जोखिम भएको स्थानीय तह रहेकाले नरैनापुले हालै एउटा दमकल खरिद गरेको थियो । शनिबार उक्त दमकलसँगै नेपालगन्जका दुई वटा थपिँदा पनि आगो नियन्त्रणमा लिन निकै समय लागेको थियो । आगलागीको चपेटमा परेको खोदवा बस्ती पर्ने नरैनापुर–४ मा १ हजार २ सय ४८ घरधुरी छन । अधिकांश घर खरले छाएका र एकआपसमा जोडिएका छन् ।