काठमाडौं । लामो समयको प्रतिक्षापछि आएको मेलम्ची खानेपानी आजबाट बालाजुमा बितरण भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको हो । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ ।
आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उनले भने, “केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ ।”
लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताए । उनका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको छ ।
यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण शुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ ।