काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चैत्र ७ गते बसेको केन्द्रीय कमिटिको बैठकले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सहितलाई सोधेको स्पष्टीकरणको जबाफ दिने भएका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् ।
प्रधानमन्त्री ओलीको निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
आइतबार महासचिव ईश्वर पोखरेलले उनीहरुलाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण माग गरेका थिए । नेपाल समूहका चार जना नेताले पत्रको जवाफ छुट्टाछुट्टै बुझाउने तयारी गरेको बताईएको छ । त्यस्तै जवाफसँगै नेपालसहितका नेताहरुले ओलीसँग पनि प्रश्न गर्ने तयारी गरेको छ ।
स्पष्टीकरण माग गरेको पत्र पाएपछि मंगलबार नेपाल समूहका स्थायी कमिटीका केही नेताहरु दिनभर छलफलमा बसेका थिए । शुक्रबार नेपाल समूहले उपलब्ध केन्द्रीय सदस्यहरुको छलफल राखेको छ ।