काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला हिजोदेखी ललितपुरमा शुरु भएको छ । भेलाको पहिलो दिन नेपालले प्रधानमन्त्री समेत रहेका केपी शर्माको कार्यशैलीप्रति कटाक्ष गर्दै ९ पेज लामो प्रतिवेदन पेश गरेका छन् । उनले प्रतिवेदनमा ओलीको कार्यशैली सच्याउनुपर्ने कुरा राखेका छन् ।
यदि ओली सचिएनन् भने पुरानै कमिटी ब्युँताउनेसम्मको तयारी यो समूहले गरेको छ ।
यो समूहको योजना अहिले ओलीसँगको लडाइँ सैद्धान्तिकभन्दा पनि सांगठनिक भएकाले तल्लो तहसम्म पुरानै कमिटी ब्युँताउने, ती कमिटीमा ओलीतिरका मान्छे नआए पदपूर्ति गर्दै जाने र पार्टी विभाजनकै अवस्था आयो भने पनि आफ्नो कमिटीलाई एकताबद्ध राख्ने रहेको छ । हिजो समूहगत छलफल गरेको यो समूहले आजसम्म आउने समूहगत छलफलको निचोडका आधारमा आगामी योजना तय हुने बताएको छ ।
भेलामा देशभरबाट दुई हजार नेता तथा कार्यकर्ताको उपस्थिति रहेको यो समूहले बताएको छ । नेपाल खनाल समूहको आगामी मार्गचित्र कस्तोे हुने हो भन्ने आज थाहा हुने नै छ । उता प्रधानमन्त्री ओलीले हिजो एक अनलाईन पत्रिकासँग अन्तर्वार्ता दिदै नेपाल खनाल समूह मिल्नेगरी अगाडी बढ्न आग्रह गरेका छन् । उनले पार्टीको विधिपद्धतिलाई पछ्याउन र आफूहरुले गरेका गलत कार्यको पश्चाताप गरे पार्टी फेरी एकढिक्काले अगाडी बढ्न सक्ने बताएका हुन । यदि त्यासे हुन नसके पनि अहिले यो समूहमा भएका मान्छेहरु आफ्नो लाईनमा आउने बताएका छन् ।