आज महाशिवरात्री पशुपतिनाथ क्षेत्रमा भक्तजनको घुईचो

काठमाडौं । भगवान शिवको आरधाना गर्दै मनाईने महाशिवरात्री आज पशुपतिनाथ क्षेत्रमा दर्शनार्थीको घुईचो लागेको छ । कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन भने छैन । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ ।

पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको संख्या पनि अहिलेसम्म कमै रहेको त्यहा जोकोहीले देख्न सकिन्छ । विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गरेको अभिलेख कार्यालयसँग रहेको छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेको जनाइएको छ ।

महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तका लागि संस्थानले फाल्गुन कृष्ण एकादशी अर्थात् फागुन २५ गते बेलुकीदेखि भोजन, धुनी र बस्ने व्यवस्था गरिसकेको छ । जसअनुसार त्यहाँ आएका साधुसन्त बसिरहेको छन् ।
फाल्गुन कृष्ण औँसीसम्म साधुसन्तलाई सत्कार गरेर राखी दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखि विधि छ । दक्षिणासहित बिदाइ गर्ने दिन साधुसन्तको संख्या बढ्ने गरेको संस्थानको पशुपति गोश्वारा कार्यालयले जनाएको छ ।

बिहीबारको महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको कोषले जनाएको छ । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपति आउने भक्तजनका लागि कोषले मास्क अनिवार्य गरेको छ ।

कोरोनाका जोखिम कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर दर्शनमा आउन आह्वान गरिएको छ । यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गरेर करिब आठ लाख भक्तजनलाई दर्शन गराउने कोषको तयारी छ । पशुपतिनाथ मन्दिर परिसरमा शिव भगवानको भक्तहरुको बिहानैदेखि घुईचो लागिरहेको छ ।

adb bank long