काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् । आजबाट दोस्रो चरणमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दिइने खोप अभियान अन्तर्गत प्धानमन्त्री ओलीले पनि खोप लगाएका हुन् ।
उनले पौने ११ बजे खोप लगाएका हुन्। उनीसँगै खोप लगाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
गृहमन्त्री रामबहादुर थापा बादलले भने सशस्त्र प्रहरी बल अस्पताल पुगेर कोरोना खोप लगाएका छन् ।
६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई १० दिनसम्म खोप लगाइनेछ । ११ औँ दिनदेखि ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको छ ।
यसअघि माघ १४ गतेदेखि पहिलो चरणमा अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्था कर्मचारी, पत्रकारलगायतलाई खोप दिइएको थियो ।
नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालिन प्रयोग भइरहेको छ ।