१९ फागुन, काठमाडौं । ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै प्रश्न उठेको छ । उनले भने आफूले अन्तर्वार्तामा बोलेको कुराको गलत प्रचार भएको दाबी गरेका छन् ।
बुधबार पेरिसडाडाँमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा नेताहरुले प्रचण्डलाई विवादित अन्तर्वार्ताबारे प्रश्न गरेका थिए ।
स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी र परिस्थितिलाई असर पर्ने गरी अन्तर्वार्ताबारे प्रचार भएको भन्दै प्रश्न गरेका थिए । अन्य केन्द्रीय नेताहरुले पनि यसबारे प्रचण्डको जवाफ मागेका थिए । कतिपय केन्द्रीय सदस्यहरुले मौखिक र कतिले लिखित रुपमा प्रश्न गरेको वैठकमा सहभागी एक नेताले बताए ।
जवाफमा प्रचण्डले आफूले दुवै छिमेकीसँग समान सम्बन्ध रहनुपर्छ भन्ने अर्थमा बोलेको बताएका छन् । ‘मैले सु–विचारित ढंगले नै अन्तर्वार्ता दिएको हुँ’ उनले भने, ‘दुवै छिमेकीसँग सन्तुलन कायम गरेर जानुपर्छ । हाम्रो असंलग्न परराष्ट्र नीतिका आधारमा दुवै छिमेकीसँग समान सम्बन्ध रहनुपर्छ भन्ने अर्थमा मैले बोलेको हुँ ।’
२०६२ सालमा तत्कालिन ७ राजनीतिक दल र बिद्रोही नेकपा माओवादीबीचको १२ बुँदे सहमतिदेखिकै विशिष्ट अवस्थालाई लिएर आफूले भारतसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौं भनेको उनले बताए । त्यसको केही अंश मात्र प्रचार गरेको प्रचण्डले दावी गरे ।
के भनेका थिए प्रचण्डले ?
एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बोलेको विषयलाई लिएर पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड विवादमा परेका थिए । ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्तिलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले समेत सार्वजनिक मञ्चबाटै पटकपटक प्रश्न उठाएका छन् ।